काठमाडौँ, १८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर साधारणतया बदली रहने छ ।
लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
यस्तै आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।











