काठमाडौं, भदौ १७ । दसैं नजिकिएसँगै भदौ अन्तिम सातादेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। देशभर दसैंका लागि भदौ अन्तिम साता सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको हो।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा. डोलराज खनालका अनुसार सरकारसँग अग्रिम टिकट बुकिङ खुल्ला गर्नेबारे अनौपचारिक रुपमा छलफल भइरहेको छ। ‘अग्रिम टिकट बुकिङ खुल्लाबारे छलफल भइरहेको छ। २५ देखि २६ गतेसम्म टुङ्गो लाग्छ,’ उनले भने, ‘यो महिनाको २९ वा ३० गतेसम्म अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्भावना देखिन्छ।’
अध्यक्ष डा. खनालले सवारी साधनको भाडादर भने छलफल नभएको बताए। बर्खा रहेकाले दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्न आफूले हतार नगर्ने बताए। उनले अवस्था हेरेर अग्रिम टिकट बुकिङ खुल्ला गर्ने बताए।
मनसुन रहँदै यो वर्षको दसैं पर्ने भएकाले सरकारले सडक मर्मतमा तीव्रता दिनुपर्ने सार्वजनिक यातायात व्यवासायीले सुझाएका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार दसैंका लागि सरकारले सडक मर्मत सम्भार गर्न सके आफूले टिकट खुलाउने बताएका छन्।











