काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण आफु अहिलेको अवस्थामा आइपुगेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिसभामा देउवाले जनताले विश्वास गरेका कारण आफु पटक पटक प्रधानमन्त्री हुन सफल भएको बताउनुभएको हो । उहाले पार्टीका सांसदहरु र सवै पार्टीले सहयोग गरेर नै प्रधानमन्त्री भएको जिकिर गर्नुभयो ।
आफु डडेलधुराबाट चूनाव लड्दा आफुबिरुद्ध धेरै पार्टी लागेपनि जनताले आफुलाई नै जिताएको उहाले बताउनुभयो । सभापति देउवाले जनताभन्दा ठूलो केहि नभएकाले जनताको सेवामा लाग्न आग्रह गर्नुभयो ।
त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले विद्रोहलाई शान्तिप्रक्रियामा बदल्न सक्ने सामथ्र्य राख्ने दलहरु नेपालमा रहेको भन्दै उनीहरु अयोग्न हुन नसक्ने जिकिर गर्नुभयो । उहाले कांग्रेसभित्र शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर उदेक प्रश्न आउने गरेको धारणा राख्नुभयो । प्रधानमन्त्री भन्ने पालोको कुरा नभइ पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको उहाले बताउनुभयो ।
त्यस्तै माओवादी उपमहासचिव बर्षमान पुनले पुराना दलहरुमाथि प्रश्न उठ्ने गरेको भन्दै अव पार्टी र नेताहरूले आफूलाई समायानुकुल परिस्कृत गर्न सक्नुपर्ने बताउनुभयो । अहिलेको लोकतान्त्रीक व्यवस्थालाई थप बलियो बनाउदै अघि बढ्न सके मात्रै जनताको विश्वास हासिल गर्न सकिने उहाले बताउनुभयो ।
कार्यक्रममा दलका नेताहरुले समाजवादी चिन्तक स्व. प्रदीप गिरीको योगदानको चर्चा गरेका थिए ।












