उपसभामुखविरुद्धको चालको विपक्षी दलले सशक्त प्रतिवाद गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ३ । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारूढ दलहरूको प्रयासलाई ‘राजनीतिक षड्यन्त्र’ भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा ९एकीकृत समाजवादी० लगायतका दलहरूले साझा रणनीति बनाउँदै उपसभामुखविरुद्धको प्रस्तावलाई अस्वीकार गर्ने अडान लिएका हुन्।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई हटाउन सत्तारूढ दल नेपाली कांग्रेस र एमाले मिलेर षड्यन्त्र गरिरहेको आरोप लगाए।
उनले भने, “संवैधानिक परिषद्को सन्तुलन भत्काउन र बहुमत जुटाउन बारम्बार उपसभामुखलाई निशाना बनाइएको छ, जुन राष्ट्रहितमा छैन।”

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तापक्षको योजनाले संसद कमजोर पार्ने संकेत दिएको उल्लेख गरे।
उनले भने, “विपक्षीलाई दबाउने यो कदमको विपक्षी दलहरू एक भएर प्रतिरोध गर्नेछन्।”

नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्र पाण्डेले पनि संवैधानिक संस्थाहरूमा सत्ता पकड जमाउने उद्देश्यले उपसभामुखमाथि खेल गरिएको बताए।
उनका अनुसार, यस्तो चाल कुनै हालतमा सफल हुन नदिने निर्णय गरिएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षीमाथि भइरहेका दबाब र योजनाहरूको कडा प्रतिवाद गर्न सबै दललाई आग्रह गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्