टप इन्ड टी–२० शृङ्खलामा नेपालले पहिलो जित हात पार्दै प्रतियोगितामा पुनरागमनको संकेत दिएको छ। मंगलबार पार्मस्टनमा भएको चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रनको बलियो स्कोर बनायो। ओपनर आरिफ शेखले ३३ रन, आसिफ शेखले २९ रन, कुशल भुर्तेलले २७ रन तथा लोकेश बमले ११ बलमा आक्रामक शैलीमा नटआउट २५ रन बनाए। होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २र२ विकेट लिए।
१८१ रनको चुनौती पछ्याएको होबर्ट हरिकेन्स १६।१ ओभरमै ११४ रनमा समेटियो। विपक्षी टोलीका ब्राडली होपले सबैभन्दा बढी ३१ रन बनाए। नेपालका बलरहरू उत्कृष्ट लयमा देखिए—नन्दन यादवले ५ विकेट लिए भने कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १र१ विकेट लिए।
यसअघि नेपाल शृङ्खलाका पहिलो तीन खेलमा लगातार पराजित भएको थियो। पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग, दोस्रोमा बङ्गलादेश ुएुसँग, र तेस्रोमा मेलबर्न स्टार्ससँग पराजय बेहोरेको थियो।
टप इन्ड टी–२० शृङ्खलामा ११ टोली सहभागी छन्, जहाँ प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्नेछ। नेपालले अब भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रबार पाकिस्तान साहिन्ससँग खेल्ने तालिका छ।
यो शृङ्खलापछि नेपालले अस्ट्रेलियामै थप अभ्यास खेलहरू खेल्नेछ। आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप टप इन्ड टी–२० र अभ्यास खेल नेपाल क्रिकेट संघ ९क्यान० को रणनीतिक योजना अन्तर्गत समावेश गरिएको हो।











