काठमाडौं, भदौ ३ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी सत्तारूढ गठबन्धनका दलहरूबीच छलफलका साथ अघि बढाइएको कांग्रेस सांसद रामहरि खतिवडाले बताएका छन्।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस र एमालेले आफ्ना सांसदहरूसँग हस्ताक्षर संकलन गर्दा सांसद खतिवडाले सत्तामा रहेका सबै दलहरूसँग समन्वय गरेर प्रस्ताव ल्याउन खोजिएको जानकारी दिए। “हामी अहिले छलफलको चरणमा छौं,” खतिवडाले भने, “सवै सत्तारूढ दलहरूसँगको सहमतिमा प्रक्रिया अघि बढाइन्छ।”
यसैबीच, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले हस्ताक्षर संकलनलाई विशेष प्रयोजनका लागि भएको बताउँदै उपसभामुखबारे औपचारिक छलफल नभएको दाबी गरेका छन्। तर एमाले र कांग्रेस स्रोतका अनुसार उपसभामुख रानामगरले पदीय आचरण विपरीत काम गरेको भन्दै अविश्वास प्रस्ताव दर्ताको तयारी भइरहेको छ।
यसअघि नेकपा माओवादी केन्द्रले उपसभामुखविरुद्धको पहललाई बदनियतपूर्ण भन्दै कडा आपत्ति जनाएको थियो। पार्टी प्रवक्ता अग्नि सापकोटाले सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेको आरोप लगाएका थिए।
उपसभामुखविरुद्धको प्रस्ताव संसद्मा दर्ता भएमा त्यसले सत्तारूढ गठबन्धनभित्रको असन्तुलन थप चर्किने संकेत देखिएको छ।











