काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीति अपनाएको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वाधार विकास र नीतिगत व्यवस्थाले लगानीमैत्री वातावरण तयार भएको बताए।
“अब असन्तुष्ट हुनुपर्ने कारण छैन। सरकार विकास र समृद्धिको दिशामा तीव्र गतिमा अघि बढिरहेको छ,” प्रधानमन्त्री ओलीले भने।
उनले उत्तर–दक्षिण मार्ग निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल, हरित उर्जा, मिथेन ग्यास, र धौवादी फलाम उत्पादनजस्ता पूर्वाधार विकासका पहल उल्लेख गर्दै यी सबैले आर्थिक गतिविधिलाई सहज बनाएको बताए।
वैज्ञानिक अनुसन्धान, आविष्कार र आधुनिक प्रविधिको उपयोगमा जोड दिँदै प्रधानमन्त्री ओलीले युवालाई नविन कामका लागि सरकारले सबै प्रकारको साथ दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ईभीटोल (उड्ने सवारी) लगायत विभिन्न नयाँ प्रविधिको अवलोकनसमेत गरेका थिए। नाडा अटो शो २०२५ भदौ ८ गतेसम्म चल्नेछ। शोमा १९ वटा चार पाङ्ग्रे, ४ वटा दुई पाङ्ग्रे ब्रान्ड, १३ व्यावसायिक सवारी ब्रान्ड, तथा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरणसम्बन्धी १२५ भन्दा बढी स्टलहरु प्रदर्शनीमा छन्।











