काठमाडौँ, २ भाद्र । साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ। आइतबार राति साढे ९ बजे उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार साहित्यकार नन्दन लामो समयदेखि श्वासप्रश्वासलगायत रोगबाट बिरामी रहेको थिए।
नन्दनको गीत, गजल र कविता लेखनमा सक्रिय नन्दनका चार गीति संग्रह, एक लघु काव्य र एक कविता संग्रह प्रकाशित छन्। वि.सं. २०११ सालमै ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेका उनका गीत नेपाली चलचित्रमा पनि समावेश छन्। नन्दनलाई राष्ट्रकवि माधव घिमिरेले नेपाली साहित्यका ‘गोल सिमल’ भन्ने गरेका थिए।
१९९२ साल जेठमा तनहुँको बन्दीपुरमा जन्मेका नन्दन बसाइँ सरेर नारायणगढमा बस्दै आएका थिए।
चितवनको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिर र दर्जनौँ साहित्यिक संघ संस्थामा नेतृत्व गरिसकेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कार लगायतका पुरस्कार र सम्मानबाट सम्मानित स्रष्टा हुन्। उनको अन्त्येष्टि आज देवघाटमा गरिनेछ।












