काठमाडौं, साउन १८ । ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर क्षेत्रलाई व्यवस्थित गर्दै उत्तरबाहिनी धाम निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। गोकर्णेश्वर महादेव मन्दिरदेखि उत्तरबाहिनी मन्दिरसम्मको क्षेत्रमा सौन्दर्यकरण तथा पूर्वाधार विकास गर्न ४० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाइएको हो।
उक्त आयोजना अन्तर्गत दुबै मन्दिर परिसरमा एक एकवटा विद्युतीय शवदाह मेशिन जडान गरिनेछ। साथै, श्रद्धालु तथा आगन्तुकहरूको सुविधाका लागि विभिन्न स्थानहरूमा भजन पाटी, सार्वजनिक शौचालय, विश्राम स्थल तथा फल्सा निर्माण गरिनेछ।
यससँगै, बागमती नदीको दायाँ र बायाँ किनारमा संरक्षणका लागि पक्की पर्खाल ९वाल० बनाइनेछ, जसले नदीको सौन्दर्य र संरक्षण दुबैमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
आयोजनाको हालै स्थलगत अनुगमन सम्पन्न भएको छ। सम्बन्धित अधिकारीहरूले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीय बासिन्दा तथा भक्तजनहरूले आयोजनाबाट गोकर्णेश्वर क्षेत्रको धार्मिक र पर्यटकीय महत्व अझ बढ्ने विश्वास लिएका छन्।












