नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमका बुबा लालवीर चौधरी

खबर बुक
  • ख-
  • ख+

काडमाढौं, साउन १५ । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ। काठमाडौ‌ंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार पार्टीका केन्द्रीय सदस्यहरुको आह्वानमा काठमाडौंमा यही असार १४ र १५ गते पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको हो। पार्टीलाई अनिर्णयको बन्दी बनाएको र डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको तथा पार्टीलाई चलायमान बनाउन नसकेकाले नयाँ निर्णय लिनुपरेको सांसद चौधरीले बताए। 

यसैबीच पार्टीको अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएकी रञ्जिता श्रेष्ठले भने पार्टी विधानविपरीत भएको निर्णय आफूलाई मान्य नहुने बताइन्। उनले भनिन्, “मलाई जानकारीसमेत नदिइ राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरिएको छ। यो विधानविपरीत हो। अब मैले कानुनी उपचार खोज्छु।”

लालवीर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन्। प्रतिनिधिसभा सदस्यसमेत रहेकी रेशम पत्नी रञ्जितालाई बुधबार पार्टीले अध्यक्ष पदबाट हटाएको थियो। विसं २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो। तत्कालीन समयमा रेशम चौधरी जेलभित्र भएकाबेला उनकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो।

जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशनबाट रेशम पार्टीको अध्यक्ष बनेका थिए। यद्यपि, निर्वाचन आयोगले वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्केको थियो। रेशम निर्वाचन आयोगको उक्त निर्णयविरूद्ध सर्वोच्च अदालत गएका थिए। हाल उक्त मुद्दा विचाराधीन छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्