चेलीका मनभित्र गहिराइमा गाडिएको यथार्थ इङ्गित तीज गीत ‘नौ गेडी’सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । “ए‘ मेरी आमा, नराम्रो नसोच्नु कसैमा‘ तीजमा म आउन पाउँदिन, म आउँछु है दशैँमा‘” – चेलीका ती शब्दहरू मात्र गीत होइनन्, यिनमा छिपेको छ मौन पीडा, असह्य अवस्थाको स्वीकारोक्ति, र मायालु माइतीप्रतिको मूक अभिव्यक्ति।

पूर्वन्यायाधीश एवं स्रष्टा भीम कुमार ओझाको यूट्युब च्यानल Bhim Kumar Ojha, Official  मार्फत सार्वजनिक भएको तीज गीत “नौ गेडी – रुझेको छैन आँसुमा” आज नेपाली समाजको चेलीहरूका मनभित्र गहिराइमा गाडिएको यथार्थतर्फ इङ्गित गर्छ।

गीतका शब्दहरूमा जहाँ सासू–ससुरा, नन्द–देवरदेखि जेठाजु–जेठानीसम्म सबैका लागि सकारात्मक भनाइ छ – “देउता झैँ छन् मेरी सासुमा”, “ज्वाईंले जुवाको खालनी जाँदैनन्, जाँड–रक्सी नि खाँदैनन्”, त्यहीँ भिडियोको दृश्य–वाचनमा चेलीको पीडादायी यथार्थ उद्घाटन गरिएको छ। घरमा हेपिएकी बुहारी, अपहेलित, उपेक्षित र अन्ततः आत्माहत्याको प्रयासमा उत्रिएकी एक संस्कारी छोरीले जब माइतीमा पुग्छे, तब पनि मुस्कानसहित भन्छे, “घरमा सबै राम्रो छ।”

तर भिडियोमा एउटै पात्र — ससुरा — जसले बुहारीप्रतिको माया र न्यायको पक्षधरता देखाउँछन्। यही पात्रमार्फत सन्देश दिन खोजिएको छ कि अन्यायको विरुद्ध एक व्यक्ति उठ्न सक्छ भने परिवर्तन सम्भव छ।

पश्चिम नेपालको मौलिक गण्डकी भेगको भाकामा आधारित यो गीतले परम्परागत तीज गीतको सीमालाई पार गर्दै चेलीको मौन क्रन्दनलाई कला, सन्देश र यथार्थको सेतुमा रूपान्तरण गर्न खोजेको छ।

भीम कुमार ओझाद्वारा लिखित गीतमा लोक प्रिय् गायिका टिका सानु ले आवाज दिनु भएको छ भने सन्तोष बि सि ले सङीत दिनु भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्