काठमाडौं, असार ९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ पिरियड’को विवादका कारण संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नरोकिएको स्पष्ट गरेका छन्।
विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रतिनिधिसभाको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुप्ताले संसद्मा केही राजनीतिक दलको विरोध कार्यक्रम चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत्वपूर्ण कार्यक्रम परेका कारण यही असार ३ गतेको बैठकको कार्यसूचीबाट सो विधेयक हटाइएको स्पष्ट गरे।
विगत नौ वर्षदेखि करिब अलपत्र अवस्थामा रहेको सो विधेयकमाथि व्यापक रुपमा छलफल भई राज्य व्यवस्था तथा सुशासन समितिद्वारा सर्वसम्मत रुपमा पारित भएको स्मरण गराउँदै मन्त्री गुप्ताले सरोकार भएका सबै पक्षलाई समेटेर बडो मेहनतका साथ तयार गरिएको र संघीयता कार्यान्वयका क्रममा अति आवश्यक देखिएको सो विधेयकले अब छिट्टै निकास पाउने विश्वास दिलाए।












