भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’ को संरक्षण गर्न क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएकोे छ ।
रेड पान्डाको संरक्षणका लागि टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।
गएको आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित १३ लाख ३० रुपैयाँ लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले बताए ।
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, शिकार गरेको खण्डमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरीवाना, एकदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अधिकारीले जानकारी दिए ।
मुन्दुम पदमार्गमा पर्ने यी ठाउँमा रेड पान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने छ । रेड पान्डाको बासस्थन संरक्षणका लागि विशेष रूपमा जोड दिएको छ ।












