सदनको गतिरोध खुलाउन एमालेसंग भएको सहमतिमा कुनै लेनदेन भएको छैन -बर्षामान पुन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार १ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन एमालेसंग भएको सहमतिमा कुनै लेनदेन नभएको स्पष्ट पार्नुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर बिभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पार्नुभएको हो । उहाले भिजिट भिसा प्रकरणमा छानविन गर्ने प्रतिवद्धता आएपछि आफुहरुले त्यसलाई स्वीकार गरेको उल्लेख गर्नुभयो । उक्त प्रकरणमा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्ने माग यथावत नै रहेको उहाले बताउनुभयो ।

पुनले प्रतिपक्षीहरुले राखेको माग अनुसार सरकार ३० दिनभित्र छानविन गर्ने सहमत भइरहेकाले बजेटको छलफलमा भाग लिन रास्वपालाई सुझाव दिनुभयो । उहाले रास्वपा नयाँ दल भएकाले अन्य दलसंग संसदीय प्रक्रियाको अनुभव लिदै अघि बढ्न आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएकाले अन्यदललाई जवरजस्ती पेलेर अघि बढ्न सकिन्छ भन्ने मानसिकता त्याग्न पनि उहाले आग्रह गर्नुभयो । पुनले संसदीय अंकगणित फेरबदल भइरहने भएकाले सभामुखले पनि संवादको वातावरण बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

उहाले प्रधानमन्त्री र सत्तापक्षले पनि सदनमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै बजेटमाथिको छलफलका क्रममा पुनले अर्थतन्त्रको समस्या समाधानमा बजेटले ध्यान दिन नसकेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्