काठमाडौं, ३१ जेठ । असार १५ सम्ममा विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट पारित गर्नेगरी सरकार अघि बढेको शिक्षामन्त्री रघुजी पन्तले बताएका छन्। शनिबार सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
मन्त्री पन्तले शिक्षकहरूसँग भएको ९ बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने बताउँदै त्यसअघि भएका सम्झौताहरूका बारेमा पनि छलफलका लागि आफू तयार रहेको बताए । सम्झौताको दायित्व ८ अर्ब रुपैयाँ हुने र त्यसको दायित्व सरकारले व्यहोर्ने उनले बताए।
शिक्षकहरू फेरि सडकमा फर्किन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको पनि मन्त्री पन्तले बताए। उनले मन्त्रालयमा उच्च शिक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार रहेको र त्यसलाई पनि सकेसम्म छिटो संसद्मा लैजाने तयारी रहेको बताए।












