वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम र सवारीसाधनमै निर्भर

खबर बुक
  • ख-
  • ख+

२६ जेठ, काठमाडौं ।वीरगञ्ज भन्सार कार्यालयले चालू आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थ आयातबाट ६४ अर्ब ५० करोड राजस्व संकलन गरेको छ।

कार्यालयले चालू आवको १० महिनामा पाँच थरिका पेट्रोलियम आयात गर्नका लागि एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ।

आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियमको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम र सवारीसाधन आयातमा निर्भर रहेको बताए।

त्यस्तै, दोस्रो धेरै राजस्व यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १५ अर्ब २४ करोड रकम प्राप्त गरेको छ। आयातबाट प्राप्त राजस्वमा यातायातका साधन र पार्टपुर्जाको हिस्सा १० दशमलव ९३  प्रतिशत रहेको छ।

यस्तै, फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब २५ करोड राजस्व संकलन गरेको छ। मेसिनरी तथा पार्टपुर्जा आयातबाट भने चार अर्ब ५५ करोड राजस्व संकलन गरेको छ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व संकलन गरेको छ। चालू आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट दुई अर्ब ८७ करोड राजस्व संकलन गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्