१९ चैत, काठमाडौं । सहकारी ठगीमा मुछिएको प्रमाण फेला परेसँगै सांसदबाट निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सोमबारदेखि पार्टी काममा फर्किएका छन्।
पार्टी काममा फर्किएसँगै निलम्बित सांसद पद फुकुवा गरिदिन रास्वपा सभापति लामिछानेसहितका सांसदले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका हुन्।
आज बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सभामुखलाई भेट्ने तय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बताए।
‘एक महिनाअघि नै हाम्रा सभापतिको निलम्बन फुकुवाको लागि सभामुखलाई ध्याकर्षण पत्र बुझाए पनि अहिलेसम्म सुनुवाइ भएको छैन। निलम्बन फुकुवाका लागि सभामुखलाई भेट्न जान लागेका हौं’, उनले भने।
सहकारी ठगी प्रकरणमा करिब तीन महिना बढी कास्की प्रहरी हिरासतमा रहेका लामिछाने जिल्ला अदालतको आदेशमा धरौटी बुझाएर रिहा भएका थिए।
त्यसपछि सहकारी ठगी प्रकरणमै लामिछानेलाई रुपन्देही, चितवन, काठमाडौं जिल्ला अदालतले धरौटी लिएर तारेखमा छन्। उनले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनसमेत गरेका छन्।
लामिछाने सोमबार ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए। सरकारले आफूलाई जिउँदै छाड्नु नै जितको प्रमाण भएको उनले प्रतिक्रिया दिएका थिए।












