आफुमाथि जतिसुकै मुद्दा लगाएपनि लुटतन्त्रबिरुद्ध लडिरहन्छु -रवि लामिछाने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि जतिसुकै मुद्दा लगाएपनि लुटतन्त्रबिरुद्ध लड्ने बताउनुभएको छ ।

सोमबारदेखि पार्टीको नियमित काममा फर्कने क्रममा पार्टी कार्यालयमा समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले आफुलाई कमजोर बनाउन राज्यले हुनसक्ने जति बल लगाएको भन्दै आफुमाथि जतिसुकै मुद्दा लगाएपनि लुटतन्त्रबिरुद्ध लड्ने बताउनुभयो ।

उहाले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको उल्लेख गर्नुभयो । आफु राजनीतिमा आएकै कारण दुख दिइएको भन्दै उहाले गणतन्त्रको आवरणमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खवरदारी गर्न आफु पछि नहट्ने बताउनुभयो ।

सभापति लामिछानेले अझै पनि आफ्नो टाउकोमाथि तरवार झुण्डाउन एउटा अदालतमा मुद्दा अड्काएर राखेको जिकिर गर्नुभयो । त्यस्तै उहाले तीनकुने घटनामा सरकारले आफ्नो लाज छोप्ने प्रयास नगरोस भन्दै छानविन हुनुपर्ने माग गर्नुभयो ।

उक्त घटनामा गृहप्रशासनको निकै कमजोरी देखिएकाले पदमा बस्ने नैतिक अधिकार गृहमन्त्रीलाई नभएको उहाले बताउनुभयो ।

उहाले शनिबार चितवनमा हुने सभामा आफुले राज्यबिरुद्ध धेरै खुलासा गर्ने बताउनुभयो । लामिछानेले सोमबारबाटै सभापतिको जिम्मेवारी बहन गर्नुभएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले लामिछानेलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्