संक्रमणकालीन न्यायः आयोग पदाधिकारी सिफारिस समितिले थाल्यो काम

खबर बुक
  • ख-
  • ख+

१८ चैत, काठमाडौं ।संक्रमणकालीन न्यायसँग जोडिएका आयोग पदाधिकारी छनोटका लागि गठित सिफारिस समितिले काम थालेको छ। 

समितिको आइतबार पूर्ण बैठक बसी काम सुरु गरेको सिफारिस समिति सदस्य एवं प्रवक्ता डा. लिली थापाले जानकारी दिइन्।

मन्त्रिपरिषद्को चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिस समिति गठन भएको हो।

सिफारिस समितिको पहिलो बैठक बसी समितिले आफ्नो कार्य प्रारम्भ गरेको र तोकिएको दुई महिनाभित्र आवश्यक काम पूरा गरिने जनाएको छ। सिफारिस समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी प्राप्त गरेको छ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य रहेका छन्।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट डा. लिली थापालाई सदस्यका रुपमा जिम्मेवारी दिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्