१३ चैत, काठमाडौं । वर्षदेखि अस्तव्यस्त काठमाडौं उपत्यकाभित्रको एतिहासिक नगरी नक्सालको नागपोखरीदेखि भगवतीवहालसम्म जाने सडक निर्माण अन्तिम चरणमा पुगेको छ। कालोपत्रे सडक भत्काएर अहिले ढुंगा छापिएको यो सडक ठेक्का लागेको दुई वर्ष बितिसक्दा बल्ल निर्माण अन्तिम चरणमा पुगेको हो।
सडक निर्माणका क्रममा विवादसमेत सुरु भएको थियो। काठमाडौं उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौं जिल्ला आयुक्तको कार्यालयले सो सडक भत्काएर त्यसमाथि ढुंगा छाप्नलाई प्रक्रिया अघि बढाएको थियो। कतिपय स्थानीय यो ठाउँमा ढुंगा बिछ्याउन नहुने र कालोपत्रे गर्नुपर्ने उनीहरूको माग थियो। विशेषगरी ठूला गाडी र मालवाहक ट्रक प्रवेश नहुने भएपछि सो क्षेत्रमा व्यापार–व्यवसाय गरिरहेका स्थानीयले कालोपत्रे गर्नुपर्ने माग राखेका थिए। लिच्छविकालीन नगरीको रुपमा रहेको नक्सालमा पुरातात्त्विक महत्त्वका सम्पदा, राजा मानदेवको पालाको शंकरकीर्ति विहार, तीन सय वर्ष पुरानो नन्दीकेशर मन्दिर र सात सय वर्ष पुराना घरसमेत छन्।
सोही कारण सम्पदा संरक्षण अभियन्ता र सम्पदाप्रेमीको पहलमा भगवतीवहालदेखि नारायणचौरसम्मको ४१० मिटर र कमलपोखरीबाट सिंहदोबाटो जाने ४२२ मिटर लामो सडकमा ढुंगा बिछ्याउने काम अगाडि बढाएको हो।
प्राधिकरणले ४ करोड ५१ लाख ६५ हजार ७०६ रुपैयाँ लागतमा निर्माण गरिरहेको यो सडक ‘हेरिटेज वाक वे’ अर्थात् सम्पदा पदमार्गका रूपमा निर्माण गरिँदै छ।











तस्बिरः नेपाल फोटो लाइब्रेरी












