जेठो दल कांग्रेसमा पारदर्शी पद्धति :  लोकतान्त्रिक प्रक्रियामा नवीनतम् अभ्यास

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन ३ ।  ‘कांग्रेस केन्द्रीय समिति बैठक लाइभ हुने,’ सोमबार साँझा एककासि फैलिएको यो खबर धेरैलाई पत्यार लागेको थिएन ।

केन्द्रीय समिति बैठक बस्नुअघि फैलिएको खबर कांग्रेस नेता–कार्यकर्ताले नै पत्याउन सकेका थिएनन् । सोमबार साँझको हल्ला मंगलबार सत्यमा परिणत भयो । कांग्रेस केन्द्रीय समिति बैठक सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण सुरु (लाइभ) गरियो । कतिपय केन्द्रीय सदस्यले असहज महसुस गरे पनि कांग्रेसको आधिकारिक फेसबुक पेज र विभिन्न अनलाइन सञ्चार माध्यमले लाइभ गरे । बैठकमा के भइरहेको छ भन्ने केन्द्रीय सदस्यले मात्रै होइन लाइभ हेर्ने सारा नेपालीले जानकारी पाए ।

देश–विदेशमा रहेका सबैले बैठकको प्रत्यक्ष दृश्य हेर्ने र सुन्ने मौका पाए । बैठक कसरी चल्छ र के छलफल हुन्छ भन्ने समेत नेता कार्यकतासहित आम जनताले हेर्न पाए । कांगे्रसका कार्यकर्ता र शुभेच्छुकले घरमै बसेर कांग्रेसका निर्णय हेर्न पाउने भएका छन् । यसले कांग्रेसलाई झन् पारदर्शी बनाउने छ । सबैभन्दा पुरानो पार्टीले सबैभन्दा अगाडि केन्द्रीय समिति बैठक लाइभ गर्नु, अन्य दलका लागि पनि पाठ हुनसक्छ ।

कांग्रेस नेतृत्वमाथि बाहिरबाट होइन, भित्रैबाट आरोप लाग्थ्यो– नेतृत्वले जहिल्यै बन्द कोठामा निर्णय गर्छ । नेतृत्व र शैली परम्परागत भयो । अब बैठक नै लाइभ भएपछि कुनै कुरा लुकेन । कांग्रेसले जनता र कार्यकतप्रति जवाफदेही बन्न आफ्नो फेसबुक पेजमार्फत् पार्टी केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारणको अभ्यास सुरु गरेको छ । कांग्रेस पूरानो पार्टी हो ।

नेपाली राजनीतिका दशकौंका उतारचढावमा कांग्रेसको नेतृत्वदायी भूमिका छ । पूराना दलहरूले लामो आरोव अवरोह पार गरेका छन् ।
तर, पछिल्लो समय रातारात नेता बन्ने होड छ । स्वयं पार्टी नेता तथा कार्यकर्ता कांग्रेसप्रति असन्तुष्ट हुँदै नयाँ दलप्रति आकर्षित हुँदै गएका छन् । गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदाएका नयाँ पार्टीप्रति कांग्रेसका मात्र होइन, एमाले, माओवादी केन्द्रसहित पुराना दलका नेता तथा कार्यकर्ताको आकर्षण बढेको देखिन्छ । जनता रास्वपाको नीति तथा कार्यक्रम, सिद्धान्त र योजनाका कारण त्यसतर्फ आकर्षित भएका होइनन्, पुराना र ठूला दल कांग्रेस, एमालेसँगको आक्रोश र असन्तुष्टि त्यहाँ गएर पोखिएको हो । पार्टीहरूमा रूपान्तरको बहस भइरहेको छ । सच्चिने कि सक्किने बहस पनि छ ।

राजनीतिक दलहरूमा समग्र रूपान्तरणको विमर्श चलिरहँदा कांग्रेसले लोकतान्त्रिक व्यवस्था स्थापनापछि पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गरेर नयाँ अभ्यास सुरु गरेको छ । यससँगै नेपालमा सञ्चालनमा रहेका दलहरूमध्ये पुरानो दल कांग्रेस पार्टी सञ्चालनको पारदर्शी पद्धतिमा नयाँ प्रविधिमा रूपान्तरण भएको छ । मुलुकको जेठो दल नेपाली कांग्रेसले ७४ वर्षे इतिहासमा पहिलो पटक केन्द्रीय कार्यसमिति बैठकमा हुने छलफल पारदर्शी बनाउने नवीनतम प्रयास थालेको हो । १४ औँ महाधिवेशनसम्म आइपुग्दा कांग्रेसका हरेक महाधिवेशन खुला सत्र अर्थत् उद्घाटन सत्र र बन्द सत्र हुँदै आएको थियो ।

यस्ता कुराहरू चिर्न सानातिना कुराले पनि काम गरिरहेको हुन्छ । यसअघि कुनै पनि पार्टीले औपचारिक घोषणा गरेरै यसरी केन्द्रीय समितिको बैठक गरिएको पाइएको छैन । बैठकको शुरूआतमा अध्यक्ष वा सभापतिले बोल्दा प्रत्यक्ष देखाउने गरिए पनि पूर्ण बैठक यसरी लाइभ गर्ने गरिएको थिएन । कांग्रेसले गरेको नयाँ अभ्यासको सामाजिक सञ्जालमा पनि प्रशंसा भएको छ ।

पार्टीको आन्तरिक छलफल बन्द सत्रमै हुने गरेको छ । यसलाई राजनीतिज्ञ र विज्ञहरूले कांग्रेसको नयाँ अभ्यास भएको बताएका हुन् । केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रसारण सुरु गरेर लोकतान्त्रिक प्रक्रियामा नवीनतम अध्याय सुरु गरेको उनीहरूको भनाइ छ ।
यसबाट अब केन्द्रीय कार्यालयका माइन्युट लेखिरहँदा कतिपय केन्द्रीय सदस्यले बैठकमा एउटा कुरा गर्ने, बाहिर सार्वजनिक रूपमा अर्कै कुरा अन्त्य हुने छ । यसअघि बैठकमा भएका कतिपय कुरा थपथाप गरेर बाहिरिने गरेका थिए ।

अन्तिममा, कांग्रेस यत्ति गरे परिवर्तन भइहाल्ने होइन । रुपान्तरण भइहाल्ने पनि होइन । सुरुवात कतैबाट हुनुपर्छ, कम्तिमा लाइभबाटै भए पनि सुरुवात भएको छ । अब रुपान्तरण र परिवर्तन हुनुपर्ने धेरै कुरा छन् । जुन यसैगरी सुरु हुनुपर्छ । बैठकमा गरिएको प्रस्तावअनुसार मात्रै काम भयो भने कांग्रेसमा धेरै रुपान्तरण हुनेछ । आसा गरौं केन्द्रीय कार्यसमिति बैठक लाइभ गरेर नयाँ सुरुवात गरेको कांग्रेसले अरु क्षेत्रमा पनि नविन अभ्यास गर्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्