आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरुसँग संवाद थाल्ने काँग्रेसको निर्णय

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष ३ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरुसँग संवाद थाल्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको व्यवस्था बमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भएकाले गठबन्धन र अन्य दलहरुसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । त्यस्तै बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको उहाँले जानकारी दिनुभयो ।

समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहेको उहाँले बताउनुभयो । उहाँले गठबन्धनको सरकारलाई निरन्तरता दिनु आफूहरुको लक्ष्य रहेको भन्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल हुने बताउनुभयो । गठबन्धन दलका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ । दाहालले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको भन्दै प्रवक्ता महतले ठूलो दल भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाँले पार्टीको संसदीय दलको नेतामा आफूहरुको प्रयास पार्टी सभापति शेरबहादुर देउवाकै नाममा सहमति जुटाउने भएको भन्दै सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियामा जाने बताउनुभयो । कांग्रेसभित्र पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र गगन थापा संसदीय दलको नेतामा आकांक्षी हुनुहुन्छ । कांग्रेस प्रतिनिधि सभामा ८९ सिटसहित पहिलो दल बनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्