रुपन्देही । नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ। अधिवेशनले आजै नयाँ प्रदेश नेतृत्व चयन गर्ने तयारी गरेको छ।
अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधिलगायतका नेताहरू दाङ पुग्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सरोज थापा ‘रोज राणा’ का अनुसार अधिवेशनबाट आजै नयाँ प्रदेश नेतृत्व चयन गरिनेछ।
अधिवेशनका लागि पार्टीले खटाएको केन्द्रीय निर्वाचन टोलीसमेत भालुवाङ पुगिसकेको छ। नेताहरूले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेका छन्। आज साँझसम्म नेतृत्व चयनको प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको जनाइएको छ।








