सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन–३ को च्याम्पियन, लुम्बिनीमाथि १० विकेटको ऐतिहासिक जित
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जित्दै पहिलोपटक च्याम्पियन बन्न सफल भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि आफ्नो नाममा लेखाएको हो।
लगातार पहिलो र दोस्रो संस्करणमा फाइनलसम्म पुगेर उपविजेतामा सीमित बनेको सुदूरपश्चिमले तेस्रो प्रयासमा भने उपाधि जित्दै नयाँ इतिहास रचेको छ। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेका थिए।
फाइनलमा सुदूरपश्चिमको जितका नायक बने स्कटल्यान्डका ब्याटर जर्ज मन्सी। उनको आक्रामक शतकको मद्दतमा १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३ ओभर ३ बलमै कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो।
मन्सीले मात्र ५४ बलमा अविजित १२५ रन बनाउने क्रममा ८ चौका र १२ छक्का प्रहार गरे। उनले २८ बलमा अर्धशतक र ४९ बलमा शतक पूरा गरेका थिए। उनलाई साथ दिएका विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाए। दुवैबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भयो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका दिलीप नाथले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले ३०, निरोशन डिक्वेलाले २८ तथा अलि शेखले २४ रनको योगदान दिएका थिए।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।
लिग चरणमा १० अङ्कसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। उता ११ अङ्कसहित शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायर जित्दै सोझै फाइनलमा प्रवेश गरेको थियो।
प्रतियोगितामा काठमाडौं गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहे। विराटनगर किङ्स पाँचौँ, कर्णाली याक्स छैटौँ, पोखरा एभेन्जर्स सातौँ तथा जनकपुर बोल्ट्स अन्तिम स्थानमा रहे।
कात्तिक ९ गतेदेखि सञ्चालन भएको तेस्रो संस्करणमा आठ टोलीको सहभागिता रहेको थियो। लगातार दुईपटक फाइनलमा पुगेर उपाधिबाट वञ्चित भएको सुदूरपश्चिमले यसपटक लुम्बिनीलाई एकतर्फी रूपमा पराजित गर्दै एनपीएलको नयाँ च्याम्पियनका रूपमा आफ्नो नाम स्थापित गरेको छ।








