काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक, अलोकतान्त्रिक तथा आतङ्कपूर्ण आगजनी र तोडफोडबाट सुरु भएको आरोप लगाएका छन्।
नेशनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफैँ प्रधानन्यायाधीश भएको व्यक्तिले असंवैधानिक कदम चालेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको कुर्सीमा कसले पुर्यायो भन्ने स्पष्ट नभएको अवस्थामा मनपरीतन्त्र चलाइएको आरोपसमेत लगाए।
ओलीले प्रतिनिधिसभा असंवैधानिक ढङ्गले विघटन गरिएको दाबी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि पनि प्रश्न उठाए। उनले राष्ट्रपतिलाई डरपोकको संज्ञा दिँदै असंवैधानिक रूपमा संसद् विघटन गरेर लोकतन्त्र जोगाउन नसकिने टिप्पणी गरे।
त्यस्तै, सर्वोच्च अदालतले प्रतिनिधिसभा असंवैधानिक ढङ्गले विघटन हुँदा पनि मौन बसेको ओलीको आरोप छ।









