प्रधानमन्त्री वालेन्द्रलाई दिल्ली विमानस्थलमा भारतीय राज्यमन्त्रीले स्वागत गर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि भोलि आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री शाहलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको पहिलो औपचारिक विदेश भ्रमण हो।

परराष्ट्र मन्त्रालयका अनुसार दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले सबैभन्दा पहिले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। त्यसपछि मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

प्रधानमन्त्री शाह र मोदीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन्।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतबीचको विकास साझेदारीलाई थप प्रभावकारी बनाउने तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषय भ्रमणका प्राथमिकतामा रहनेछन्।

प्रधानमन्त्री शाहको नेतृत्वमा भारत भ्रमणमा जाने सरकारी टोली ३४ सदस्यीय हुनेछ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्। दिल्लीस्थित नेपाली राजदूतावासबाट पनि राजदूतसहित केही सदस्य भ्रमण टोलीमा थपिनेछन्।

प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्ध थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्