प्रधानमन्त्री र अर्थमन्त्रीको अभिव्यक्ति नियोजित रूपमा आएको हुनसक्ने श्रम संस्कृति पार्टीको आशंका

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपालको राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा उभिनु कुनै पनि राष्ट्रको विरोध गर्नु नभएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री र अर्थमन्त्रीका अभिव्यक्तिप्रति आपत्ति जनाए।

नेपालले पञ्चशीलको सिद्धान्तका आधारमा सबै राष्ट्रसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताए।

उनले भने, ‘हामी कुनै पनि राष्ट्रको विरुद्धमा होइनौँ। हाम्रो देश पञ्चशीलको आधारमा बुद्धत्वको दृष्टिकोणले सबैसँग सन्तुलित र सुमधुर सम्बन्ध विस्तार गर्नु पर्दछ। तर यसको मतलब कुनै देशको विरुद्धमा पनि हामी होइनौँ।’

प्रधानमन्त्रीले भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्ति र अर्थमन्त्रीले भारतसम्बन्धी व्यक्त गरेको धारणाबारे सदनबाट जवाफ माग्ने बताए। सरकारका गतिविधिले प्रधानमन्त्री र अर्थमन्त्रीको अभिव्यक्ति आकस्मिक नभई नियोजित हुन सक्ने आशंका उत्पन्न गरेको बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे पुनः संसद् बैठक सुरु भएपछि प्रश्न उठाउने उनले बताए। राष्ट्रियता, राष्ट्रिय एकता, समृद्धि र सार्वभौमसत्ताको रक्षा आफ्नो पार्टीको प्राथमिकता भएको जिकिर गरे।

उनले भने, ‘पार्टी र दल जन्मिँदै जान्छन्, सिद्धिँदै जान्छन्, नयाँ आउँछन् तर देश रहनुपर्छ।’ उनले व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि राष्ट्रिय हितमा असर पर्ने अभिव्यक्ति दिन नहुने बताए।

कूटनीतिको नाममा आफ्नै देशको हितविपरीत हुने गरी बोल्नु उचित नहुने उनको भनाइ छ। अर्थमन्त्रीको राजीनामा माग्ने वा आन्दोलनमा जाने विषयमा संसद् खुलेपछि पार्टीको धारणा थप स्पष्ट हुने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्