काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको टिप्पणी गरेका छन् ।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चीनको शान्तिपूर्ण उदयलाई ऐतिहासिक चरणको महत्वपूर्ण पक्षका रूपमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा ओलीले विश्व अर्थतन्त्र, नवप्रवर्तन र जनसङ्ख्याको केन्द्रबिन्दुका रूपमा एसियाको उदयले महत्वपूर्ण अवसरसँगै विशिष्ट चुनौतीसमेत प्रस्तुत गरेको उल्लेख गरेका छन् ।
‘विश्व अर्थतन्त्र, नवप्रवर्तन र जनसङ्ख्याको केन्द्रबिन्दुका रूपमा एसियाको उदयले महत्वपूर्ण अवसर र विशिष्ट चुनौती प्रस्तुत गरेको छ,’ ओलीले भनेका छन्, ‘चीनको शान्तिपूर्ण उदय यस ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष हो । भारतले पनि स्वतन्त्रतापश्चात् महत्वपूर्ण प्रगति हासिल गरेको छ र विश्व शक्तिको आकांक्षा राखेको छ ।’
यद्यपि, छिमेकीहरूसँग भारतका विभिन्न मुद्दाहरू अझै समाधान नभएको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यही प्रसंगमा उनले अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको बताएका छन् ।
‘अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको छ,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।










