काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूको जगेर्ना गर्ने संकल्पसहित पार्टी अघि बढ्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका हुन् ।
‘नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ,’ भिडियो सन्देशमा सभापति थापाले भनेका छन्, ‘हामी संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्नेछौँ ।’
उनले संविधानमा कतिपय विषय परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै संविधान संशोधनका लागि साहस र स्पष्टता पनि महाधिवेशनबाट ल्याउने बताएका छन् ।
‘संविधानमा कतिपय कुराहरू बदल्नुपर्नेछ । जसले संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्नेछ,’ थापाले भनेका छन्, ‘हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ ।’
सभापति थापाले महाधिवेशनका क्रममा आपसी तिक्तता थप बढाउने अवस्था सिर्जना नगर्न पनि आग्रह गरेका छन् ।
‘अधिवेशन हाम्रा बीचका नमिलेका मन मिलाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ । यसलाई थप फाटो बढाउने अवस्था निर्माण गर्नु हुँदैन,’ थापाले भनेका छन्, ‘हिजो के भएको थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनका क्रममा बिर्सिनुपर्छ ।’
महाधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने प्रयास भइरहेको पनि उनको भनाइ छ ।
‘वितेका केही महिनामा पार्टीभित्रका केही विशिष्ट घटनाहरूले गर्दा केही विषयमा मतहरू बाझिए,’ सभापति थापाले भनेका छन्, ‘हामीहरू अधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने सर्वोत्तम प्रयत्न गरेका छौँ ।’










