३ असोज, काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ।
संविधान दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने गर्दछ।
संविधान दिवसका अवसरमा प्रदेश सरकार र स्थानीय तहका साथै गणतन्त्रवादी राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरिन्छ।
दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा अन्य व्यक्तिहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन्।










