काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूलाई जेनजी आन्दोलनको अपमान नगर्न चेतावनी दिएका छन्।
जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलन इतिहासको महत्वपूर्ण घटना भएकाले त्यसलाई विभिन्न ढंगले व्याख्या गरेर कमजोर बनाउने प्रयास नगर्न पुराना दलका नेताहरूलाई आग्रह गरे।
उनले भने, “त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।”
गुरुङले जेनजी आन्दोलनको अपमान गर्नु भनेको तीन करोड नेपाली जनताको अपमान गर्नु भएको दाबी गरे। उनले पुराना राजनीतिक दलका नेताहरूलाई अझै पनि समय रहेको भन्दै आफ्नो सोच र कार्यशैली सुधार्न आग्रह गरे।
“यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईंले बनाउन सक्नुहुन्न,” उनले भने।
गृहमन्त्री गुरुङले आफूहरू सत्ता र शक्तिको लोभमा नभएको पनि बताए। जनताले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू सरकारमा आएको उनको भनाइ छ।
“न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ। अहिले पनि छैन,” उनले भने।
आफ्नो जिम्मेवारीप्रति आफू निकै संवेदनशील रहेको उल्लेख गर्दै गुरुङले काम गर्दा सानो कमजोरीसमेत नहोस् भनेर निरन्तर प्रयास गरिरहेको बताए।
“मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु,” उनले भने।
गुरुङले सुशासनको पक्षमा उभिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोपसमेत लगाए। अहिलेको सरकारले जेनजी आन्दोलनका माग र भावनालाई सम्बोधन गर्ने गरी काम गरिरहेको उनको दाबी छ।
सुशासन स्थापित गर्ने जिम्मेवारी आफूलाई दिएको भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई धन्यवादसमेत दिए। सभापति लामिछानेसँग आफूले आवश्यक विषयमा सल्लाह लिइरहेको उनले बताए।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज देशभर जेनजी शहीद दिवस मनाइँदैछ। सरकारले २३ भदौलाई जेनजी शहीद दिवसका रूपमा घोषणा गरेको छ।










