काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई दुःख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै उनले विगतमा नेताहरूले चिल्ला भाषण गरे पनि त्यसअनुसार काम हुन नसकेको बताए। आफूहरू त्यही राजनीतिक संस्कार परिवर्तन गर्न सरकारमा आएको उनको भनाइ छ।
‘कत्रा–कत्रा नेताहरूले जमानादेखि भाषण गरेका हुन्। जमानादेखि चिल्ला–चिल्ला भाषण हामीले देखिसकेको हो। हाम्रो आमाबुवाले भोगिसक्नुभएको पनि हो,’ गृहमन्त्री गुरुङले भने, ‘हामीले त्यसको रिजल्ट भोग्नुपरेको थियो। अहिले काम गर्ने नेताहरू चुन्नुभएको छ।’
उनले आफूहरूलाई कार्यालय समय सकिएपछि घर जाने हतार नभएको भन्दै नागरिकको हितमा काम गर्नु नै आफ्नो प्राथमिकता रहेको बताए।
‘हामीलाई ५ बजे कतिबेला घर जानुपर्छ भनेर हतार छैन। आज हामीले कति जना नागरिकलाई दुःख हुन नदिनका लागि काम गर्यौँ भनेर मात्रै हामी काम गर्छौँ। त्यो घडी मात्रै हामी हेर्छौँ,’ उनले भने।
गुरुङले थाकेपछि मात्रै आफूहरू आराम गर्ने र घडीको टिकटिक हेरेर कामबाट पछि नहट्ने बताए।
‘जब थाक्छौँ तबमात्रै सुत्छौँ। घडीको टिकटिकबाट हामी सुत्नेवाला छैनौँ,’ उनले भने।










