माथिल्लो त्रिशूली ‘३ ए’ मा फसेकाको उद्धार रातभरि जारी, हेलिकप्टरबाट विशेष टोली परिचालन गरिँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य सरकारले रातभरि निरन्तर सञ्चालन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ।

जलसतह अत्यधिक बढेपछि आयोजना आसपासको नदी किनार तीव्र रूपमा कटान हुन थालेको छ। थप क्षति हुन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै आयोजनाको समग्र अवस्थाको निरन्तर अवलोकन गरिरहेको जनाएको छ।

बाढी र पहिरोका कारण आयोजनामा थुप्रिएको माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसैबीच, पहिरो र माटोले पुरिएको त्रिशूली ‘३ ए’ को टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारीसमेत गरिएको छ।

आयोजनाको टनेल पोर्टल र पावर हाउसको निगरानी तथा नियन्त्रणका लागि प्रयोग हुने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्स माटो तथा लेदोमा पुरिएका छन्। ती उपकरण सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत विशेष टोली परिचालन गर्ने तयारी गरेको छ।

सडक पहुँच अवरुद्ध रहेकाले पुरिएको भवननजिकै हेलिकप्टरबाट उद्धार तथा प्राविधिक टोली उतारेर उपकरण निकाल्ने योजना बनाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बाढीको जोखिम कायमै रहेकाले आयोजना क्षेत्रमा उद्धार, क्षति आकलन तथा महत्वपूर्ण संरचना र उपकरणको सुरक्षाका लागि सरकारले पूर्ण सतर्कताका साथ आवश्यक काम अघि बढाइरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्