रसुवा बाढी पीडितलाई कुमारी बैंकको ३ करोड ३९ लाख रुपैयाँको सहयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बैंकहरूमध्ये बाढी पीडितका लागि राहत कोषमा रकम जम्मा गर्ने कुमारी बैंक पहिलो बनेको छ ।

हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍र्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो ।

साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरको ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ ।

हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन, प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । उक्त सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्