धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन्। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि भोलि नै सकिँदैछ। आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।
यसैबीच, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। मुख्यमन्त्रीको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नेकपा र एमालेबीच भएको सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ।










