काठमाडौं । विश्वकपको फाइनल खेलपछि मैदानमा भएको अवाञ्छित घटना र झडपका विषयमा फिफाले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको छ। फिफाको अनुशासन समितिले मेटलाइ रंगशालामा फाइनल खेलको अन्तिम सिट्ठी बजिसकेपछि घटेका घटनाहरूको छानबिन गर्न एक अनुशासन तथा आचरण अभियोजक नियुक्त गरेको छ।
स्पेनविरुद्ध १–० गोलले पराजित भए लगत्तै स्पेनिस खेलाडीहरूले आफ्नो विजयको उत्सव मनाइरहँदा अर्जेन्टिनाका खेलाडी र सहकर्मीहरूबीच झडप भएको थियो। यस विवादमा संलग्न खेलाडी वा कोचहरूमाथि प्रतिबन्ध लाग्न सक्ने सम्भावना छ भने अर्जेन्टिनी फुटबल संघले पनि आर्थिक जरिवाना भोग्नुपर्ने हुन सक्छ।
घटनाका क्रममा नहुएल मोलिना, लियान्द्रो पारेडेस, थियागो अल्माडा र सहायक कोच रोबर्टो आयला प्रत्यक्ष रूपमा संलग्न देखिएका थिए। सुरुमा पारेडेसले स्पेनका एरिक गार्सियालाई घाँटीमा धकेलेको भन्दै रेफ्री स्लाभ्को भिन्सिचले रातो कार्ड देखाएको रिपोर्ट आए पनि पछि उक्त कार्ड रेकर्डबाट हटाइएको थियो र त्यसबेला कुनै अनुशासनात्मक कारबाही नगरिएको फिफाले बीबीसी स्पोर्टलाई पुष्टि गरेको छ।
खेलको दोस्रो हाफको इन्जुरी समयमा एन्जो फर्नान्डेसले भने दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिएका थिए। यसअघि नै सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएपछि फकल्याण्ड टापुको दाबीसहितको ब्यानर प्रदर्शन गरेको विषयमा पनि अर्जेन्टिना फिफाको अनुसन्धानको दायरामा परिसकेको छ।
के भएको थियो मैदानमा ?
न्युजर्सीस्थित रंगशालामा फाइनलको सिट्ठी बज्दा कप्तान लियोनल मेसीसहित केही अर्जेन्टिनी खेलाडीहरू मैदानमा निराश भएर ढलेका थिए भने स्पेनका खेलाडीहरू खुसीयाली मनाउन दौडिएका थिए। अतिरिक्त समयमा मैदान बाहिरिएका रोद्री आफ्ना साथीहरूसँग खुसी साट्न जाँदा अर्जेन्टिनी डिफेन्डर मोलिनाले उनलाई हात वा पेटमा हिर्काएका थिए जसले झडपको बीउ रोपेको थियो। त्यसपछि एरिक गार्सिया र लियान्द्रो पारेडेस विवादमा होमिँदा पारेडेसले गार्सियाको घाँटीमा हिर्काएका थिए भने वैकल्पिक खेलाडी गाभीलाई अल्माडा र पारेडेसले भुइँमा पछारेका थिए। सहायक कोच आयलाले पनि गार्सियाको घाँटी समातेको र डानी ओल्मोलाई हिर्काएको देखिएको थियो।
बीबीसीको कभरेजमा बोल्दै पूर्वखेलाडी एलान शियररले अर्जेन्टिनी खेलाडीहरूको व्यवहार निकै निन्दनीय र खेल भावना विपरीत रहेको बताएका छन्। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कोलामीले भने पराजयलाई सहज रूपमा लिनुपर्ने र आफूहरू हार स्वीकार गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।
कस्तो हुन सक्छ कारबाही ?
फिफाको अनुशासन संहिताको धारा १३ अनुसार खेलाडी र अफिसियलहरूको अपमानजनक व्यवहार तथा ‘खेलकुद र फिफाको बेइज्जत हुने किसिमको आचरण’ देखाएमा कडा कारबाही गर्न सकिने प्रावधान छ। फिफाको अनुशासन तथा आचरण अभियोजकले यस घटनाका सबै परिस्थितिहरूको अध्ययन गरी विश्वव्यापी रूपमा प्रतिबन्ध लगाउने अधिकार राख्छ। यसअघि सन् २०१४ को विश्वकपमा इटालीका जर्जियो चिएलिनीलाई टोकेको आरोपमा उरुग्वेका स्ट्राइकर लुई सुआरेजलाई चार महिनाको प्रतिबन्ध लगाइएको थियो। यद्यपि यसपटक अल्माडा, आयला, मोलिना र पारेडेसलाई त्यति लामो प्रतिबन्ध भने नहुन सक्छ।
फिफाको अनुशासन समितिले पछिल्ला वर्षहरूमा पनि अर्जेन्टिना फुटबल संघलाई खेलाडीको अनुशासनहीनताका कारण कारबाही गर्दै आएको छ। सन् २०२२ को विश्वकप जित्दाको उल्लासका क्रममा गोलकिपर इलियामीयानो मार्टिनेजले गरेको अवाञ्छित हर्कत र फ्रान्सका किलियन एम्बाप्पे जिस्क्याएको घटनामा संघ जरिवानामा परेको थियो भने मार्टिनेज पछि प्रतिबन्धित पनि भएका थिए।
हालको घटनामा फिफाले अनुसन्धान निष्कर्षमा पुग्न कति समय लगाउँछ भन्नेबारे आधिकारिक मिति तोकिएको छैन।










