मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’ पोर्टल!

खबर बुक
  • ख-
  • ख+

११ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सेवा प्रवाहलाई सजिलो बनाउनका लागि हेलो एनएमसी पोर्टल ल्याएको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार दिपेन्द्र पाण्डेका अनुसार यसअघि आम नागरिकले चिकित्सक वा चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा उजुरी वा गुनासो दर्ता गर्न काउन्सिलको कार्यालयमै भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता थियो ।

दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँको बाँसबारीस्थित कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो । चिकित्सकविरुद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउन सक्ने अवस्था थिएन ।

‘हेलो एनएमसी’ पोर्टल सञ्चालनमा आएसँगै आम सर्वसाधारण र दार्तावाला चिकित्सकले सामान्य गुनासाका लागि नै काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हेटेको डा. पाण्डे बताउँछन् ।

उक्त पोर्टलमार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ । नाम खुलाएर गरिएका उजुरीको हकमा पनि उजुरीकर्ताको गोपनीयता सुरक्षित राखिने काउन्सिलले जनाएको छ ।

विगतमा उजुरीको अवस्था र कारबाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकोमा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउनेछ । उक्त उजुरीमाथि भइरहेको छानबिन वा कारबाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेलमार्फत निरन्तर जानकारी गराइने छ ।

दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् । सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइटwww.nmc.org.np रहेको हेलो एनएमसी पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । काउन्सिलको आधिकारिक क्युआर कोड स्क्यान गरेर वा nmc@nmc.org.np मा इमेल गरेर पनि उजुरी तथा आवश्यक कागजात पठाउन सकिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्