सरकारले भन्यो- यसपटक अहिलेसम्मकै सबैभन्दा बढी परिमाणको मल आपूर्ति हुँदै छ, अभाव हुँदैन

खबर बुक
  • ख-
  • ख+

१३ जेठ, काठमाडौं । कृषिमन्त्री गीता चौधरीले सरकारले कृषकलाई लागत सहभागिताको आधारमा अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको बताएकी छन्।

प्रतिनिधिसभामा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै चालू आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७ सय ६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको जानकारी गराइन्।

उनले भनिन्, ‘४ लाख ६३ हजार १ सय ७ मेट्रिक टन मल किसानलाई बिक्री गरिसकिएको छ। हाल गोदाममा रहेको, नेपाल भित्रिसकेको तथा गोदाम इन्ट्री हुन बाँकी रहेको गरी कुल १ लाख ४४ हजार ५ सय ८५ मेट्रिक टन मल मौज्दात छ। चालू आर्थिक वर्षको असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराइनेछ।’

उनले यसपटक अहिलेसम्मकै सबैभन्दा बढी परिमाणको मल आपूर्ति हुने दाबी गरिन्। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा मल उत्पादन तथा आपूर्तिमा समस्या उत्पन्न भएको र मूल्यमा समेत उच्च वृद्धि भएको बताइन्।

चालू तथा आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी सम्झौता भइसकेको १ लाख ८७ हजार मेट्रिक टन मल हालसम्म आउन नसकेको जानकारी दिइन्। धान रोपाइँको सिजन नजिकिँदै गर्दा मल अभाव हुन नदिन मन्त्रालय विशेष रूपमा सक्रिय रहेको बताइन्।

भारतसँग सरकार जीटुटी प्रणालीमार्फत ५० हजार मेट्रिक टन मल खरिद गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको र खरिद प्रक्रिया अघि बढाइएको बताइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्