२७ वैशाख, काठमाडौं । एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ ।
अग्रवालविरुद्ध नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कर छली गरेको आरोपसहित उजुरी दर्ता भएको हो ।
विदेशबाट सवारी साधन आयात गर्ने र नेपालमा बिक्री वितरण गर्दै आएका अग्रवालले करोडौँ रुपैयाँ भ्याट र कर छली गरेको आरोप लागेको छ ।
प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको निवेदनमा अग्रवाल र उनी सम्बद्ध कम्पनीहरूको आर्थिक कारोबारमाथि छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरिएको छ ।
उक्त उजुरी अनुसार २०६७ सालमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएका अग्रवालले विभिन्न कम्पनीहरू खडा गरेर कर छली गरेको आरोप छ । आर्थिक वर्ष २०८०–८१ मा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल्स प्रालिले आयात गरेको फोटो इभी गाडीमा भन्सार छली गरेको उक्त उजुरीमा उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयमा गरिएको उजुरीमा भनिएको छ– आव २०८०–०८१ मा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल्स प्रा।लिले आयात गरेको फोटोन इभी गाडीमा भन्सार छली गरेको तथ्य भन्सार विभागले चं नं ५६४/०८१०८२ मा पत्र मार्फत छ करोड रुपैयाँ भन्सार छली गरेकोमा बक्यौता देखिएकोले तत्काल दाखिला गर्न पत्राचार गर्दा समेत सरकारलाई तिर्नु बुझाउनुपर्ने कर समेत नतिरी, भुक्तानी नगरी अटेर गर्दै आइरहेका छन् ।
निज विष्णु कुमार अग्रवालले नक्कली भ्याट बिलको कारोबार गर्दा खोलेको मोरङ अटो वक्र्स (भ्याट नं ३०१९७४२८२) हाल बन्द गरी सोही नामसँग मिल्दोजुल्दो बनाई मोरङबाट एम अटोबाट ए, वक्र्सबाट डब्लू समेतका अक्षरहरू जोडी एमएडब्लू बनाएर विभिन्न फरक फरक कम्पनीहरू खोली कारोबार गर्दै आइरहेका छन् ।
उनले आफ्नै कम्पनीहरूका बीचमा समेत कारोबार गरेको देखाई कर छलीमा समेत संलग्न रहेको हुँदा सबै कम्पनीहरूको २०६७ सालदेखिको भ्याट तथा पुष्टि नहुने खर्चहरू हिसाब गरी आयकर समेत छली गरेको सम्बन्धमा विस्तृतमा छानबिन गरी दोषी देखिएको हदसम्म कारबाही गर्न माग गरिएको छ ।












