२० हजार घुस लिएको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खबर बुक
  • ख-
  • ख+

२५,वैशाख काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा चलाइएको अख्तियारले शुक्रबार जनाएको छ । अख्तिायारका अनुसार राउतले बैंकिङ कसुर (चेक बाउन्स) सम्बन्धी मुद्दाको मिलापत्र गराइदिने र जाहेरवालाको रकम फिर्ता दिलाउन सहयोग गर्ने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिई २० हजार रुपैयाँ घुस मागेका थिए।

अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा राउतले सेवाग्राहीलाई दुःख हैरानी दिई घुस लिएको स्थापित भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो २० हजार कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै आज आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्