रास्वपा उम्मेदवार छनोट : प्राइमरी इलेक्सनको मतभार ४० प्रतिशत मात्र, नवप्रवेशीलाई कुलिङ पिरियड

खबर बुक
  • ख-
  • ख+

२० वैशाख, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्न अत्यन्तै कडा र वैज्ञानिक मापदण्डसहितको ‘उम्मेदवार छनोट रूपरेखा’ तयार पारेको छ ।

‘विपिन कुमार आचार्य’ नेतृत्वको कार्यदलले तयार पारेको ३५ पृष्ठ लामो मस्यौदाअनुसार अब रास्वपाबाट उम्मेदवार बन्न चाहनेले विभिन्न चारवटा कठिन चरण र ‘फिल्टर’ पार गर्नुपर्ने हुन्छ ।

नेपाली राजनीतिमा व्याप्त नातावाद, कृपावाद र पैसाको चलखेललाई अन्त्य गर्दै ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा उम्मेदवार छान्न रास्वपाले नयाँ मोडल अघि सारेको हो । यो मोडललाई आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कार्यान्वयन गर्ने तयारी गरिएको छ ।

यस्तो छ उम्मेदवार छनोटको अंकभार (भाराङ्क):

मस्यौदाले उम्मेदवारको मूल्यांकनका लागि १०० पूर्णाङ्क तय गरेको छ, जसलाई चार भागमा विभाजन गरिएको छः

१. लिडरसिप एकेडेमी (२५%): उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा पार्टीको लिडरसिप एकेडेमीमा प्रशिक्षण लिनुपर्नेछ । यहाँ उम्मेदवारको वैचारिक स्पष्टता, स्थानीय सरकार सञ्चालनको ज्ञान र योजनाको परीक्षा लिइनेछ । यसमा उत्तीर्ण हुनेले मात्र अर्को चरणमा प्रवेश पाउनेछन् ।

२. पोलिटिकल प्रोक्सिमिटी (२५%): यस अन्तर्गत उम्मेदवारको पार्टीप्रतिको योगदान, अनुशासन, जनसम्बन्ध र जित्ने सम्भावना (विनिङ प्रोवाबिलिटी) को वैज्ञानिक मापन गरिनेछ ।

३. समावेशिता (१०%): महिला, दलित, युवा, सीमान्तकृत समुदाय र वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) हरूलाई प्रोत्साहन गर्न यो विशेष अंकभार राखिएको छ ।

४. प्रारम्भिक निर्वाचन – प्राइमरी (४०%): सबैभन्दा धेरै भार पार्टीका साधारण सदस्यहरूले गर्ने मतदानलाई दिइएको छ । मोबाइल एपमार्फत हुने यो मतदानमा ‘ब्लकचेन’ प्रविधि प्रयोग गरिने बताइएको छ । यसअघि प्राइमरी इलेक्स्नको मतभार ५० प्रतिशत थियो । अहिले त्यसलाई पनि झारेर ४० कायम गरिएको हो ।

‘क्यान्डिडेट क्लब’ र योग्यताको कडा मापदण्ड

उम्मेदवार बन्न इच्छुक व्यक्ति सुरुमा ‘क्यान्डिडेट क्लब’ मा आबद्ध हुनुपर्नेछ । भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागूऔषध जस्ता फौजदारी कसुरमा सजाय पाएका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् । साथै, उम्मेदवारले आफ्नो सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ ।

पार्टी फेर्नेलाई ‘कुलिङ पिरियड’

अन्य राजनीतिक दल त्यागेर रास्वपा प्रवेश गर्नेहरूका लागि ‘कुलिङ पिरियड’ को व्यवस्था गरिएको छ । अन्य दलबाट आएका व्यक्ति रास्वपाको उम्मेदवार बन्न पार्टी सदस्य लिएको कम्तीमा ९० दिन पुगेको हुनुपर्नेछ । यद्यपि, समाजका प्रतिष्ठित र विज्ञ व्यक्तित्वका लागि ‘ल्याटरल इन्ट्री’ मार्फत विशेष सहमतिमा उम्मेदवार बन्न सक्ने बाटो भने खुला राखिएको छ ।

टिकटको व्यापारमा ‘जिरो टोलरेन्स’

मस्यौदामा आर्थिक लेनदेन वा चन्दाको भरमा उम्मेदवार बन्ने प्रथालाई पूर्ण रूपमा निषेध गरिएको छ । उम्मेदवारी दिलाउने नाममा कसैले आर्थिक चलखेल गरेमा वा उपहार स्वीकार गरेमा तत्काल निष्कासन गर्ने ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति लिइएको छ ।

डिजिटल सुरक्षा र पारदर्शिता

प्रारम्भिक निर्वाचन (प्राइमरी) का लागि पार्टीको आधिकारिक मोबाइल एप प्रयोग गरिनेछ, जसमा दुई–तहको प्रमाणीकरण र मतदानको तथ्याङ्क हेरफेर नहोस् भन्नका लागि ‘ब्लकचेन’ प्रविधि अपनाइने मस्यौदामा उल्लेख छ ।

रास्वपाको यो प्रस्तावित रूपरेखाले स्थानीय तहमा सक्षम, इमानदार र जनताप्रति उत्तरदायी नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको मस्यौदा कार्यदलका सदस्य रोहन कार्कीले बताए । यो मस्यौदा अनुमोदन भएपछि आगामी स्थानीय निर्वाचनमा रास्वपाले यसैका आधारमा आफ्ना उम्मेदवारहरू तय गर्ने उनले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्