काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नराखी जिल्लामा पठाइएका करिब ४ लाख नयाँ क्रियाशील सदस्यता फारम रद्द गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको समितिको बैठकले सिरियल नम्बर नभएका फारम अमान्य ठहर गर्दै सिरियल नम्बर सहितका नयाँ फारम छापेर जिल्लारजिल्लामा पठाउने निर्णय गरेको हो।
समितिका सदस्य प्रकाश स्नेही रसाइलीले २४ घण्टाभित्र सिरियल नम्बर सहितका फारम छापेर सबै जिल्लामा पठाइने निर्णय भएको जानकारी रातोपाटीलाई दिए।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिमा सिरियल नम्बर नभएका फारम फिर्ता माग्ने कि ती फारममै विवरण भर्न दिने भन्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो। महामन्त्री थापा र सदस्य स्नेही रसाइली ती फारमलाई नै मान्यता दिएर प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा थिए।
तर समितिमा रहेका संस्थापन पक्षीय सदस्यहरू योगेन्द्र चौधरी र सीता गुरुङले ती फारम फिर्ता ल्याई सिरियल नम्बर सहितका नयाँ फारम पठाउनुपर्ने अडान लिएका थिए।
लामो छलफल र रस्साकस्सीपछि अन्ततः महामन्त्री थापा र सदस्य स्नेही आफ्ना अडानबाट पछि हट्न बाध्य भएका हुन्। समितिका एक सदस्यका अनुसार थापाले मङ्गलबारको बैठकमा पनि सिरियल नम्बर नभएका फारमलाई मान्यता दिनुपर्ने धारणा राखेका थिए।










