काठमाडौं, २३ मंसिर । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुटेका छन् ।
विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउनेबताए । १ सय ८ जना केडन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन् । मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए ।
तात्कालीन नेकपा (एस) को ‘घरफर्क अभियान’ बाट आउनेमध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएको अधिकारीले बताएछ । उक्त विषयमा पार्टी सचिवालयले निर्णय गर्ने छ ।
अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भएको छ । ती जिल्लाहरुमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड बनाएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो । जसअनुसार दुवै जिल्लाबाट सर्वसहमत रुपमा प्रतिनिधि छनौट भएर आएका छन् । त्यसबाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौट विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए ।
एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रूपमा प्रवेश गर्दैछन् । उनीहरू सल्लाहकार परिषद्का सदस्यहरू हुन् । सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । प्रतिनिधि हुन नसकेकाहरूलाई महाधिवेशनमा सहभागीका रूपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् ।










