काठमाडौँ, २२ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका १ सय १४ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दल दर्ता तथा उम्मेदवारी प्रक्रियामा प्राप्त निवेदनको जाँचबुझपछि आयोगले निर्वाचन चिन्ह प्रदान गरेको हो ।
निर्वाचनमा भाग लिन १ सय २० दलले निवेदन दिएका आयोगले जनाएको छ । सम्पूर्ण प्रक्रिया पूरा भएपछि १ सय १४ दल मात्रै चुनावी प्रतिस्पर्धाका जाने भएका छन् ।
आगामी निर्वाचनमा १ सय २ दलले आफ्नै निर्वाचन चिन्ह प्रयोग गर्दै प्रतिस्पर्धा गर्नेछन् । पाँच समूहमा रहेका १२ दल भने संयुक्त (एकल) निर्वाचन चिन्ह लिएर चुनावमा उत्रिनेछन् ।
मतपत्रमा यस पटक कुल १ सय ७ वटा निर्वाचन चिन्ह समावेश हुने आयोगले जनाएको छ । निवेदन दिएका मध्ये १३ दलका निवेदन विभिन्न कारणले खारेज वा फिर्ता भएका छन् ।
पहिलो नम्बरमा ‘सूर्य’, दोस्रोमा ‘रूख’, तेस्रोमा पाँचकुने तारा’
दर्ता भएका नयाँ चर्चित दलमा ३३ नम्बरमा जेनजी आन्दोलनका खुट्टा गुमाएका राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीको बासुरी, ५१ औँ नम्बरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको अँजुलीमा रहेको माटो, ५७ औँ नम्बरमा नेत्रबहादुर चन्द नेतृत्वको नेकपा (माओवादी) रहेका छन् ।
यस्तै ६४ नम्बरमा अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिंग संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिम, ९१ नम्बरमा पूर्व प्रहरी महानिरीक्षक सवेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीको हात मिलाएको महिला र पुरुष (समानता), १०० नम्बरमा खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको गोलाकारभित्र बुढी औला उठाएको लाइक आकृति र अन्तिम तथा १ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको भैँसी निर्वाचन चिन्ह रहेको छ ।










