मधेश प्रदेशमा नयाँ सरकार गठनको दौड : सात दलीय गठबन्धन मुख्यमन्त्री दाबीमा तयारी

खबर बुक
  • ख-
  • ख+

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया तीव्र बनेको छ। एमालेबाहेकका सात दलले संयुक्त रूपमा सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम तयारी गरेका छन्। हिजो बसेको लामो छलफलपछि गठबन्धन सहमतिमै पुग्ने संकेत नेताहरूले दिएका छन्।

सात दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एस र नाउपा सहभागी छन्। प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आव्हानअनुसार दाबी पेश गर्ने समय सीमा आजसम्म रहेको छ।

गठबन्धनभित्र लोसपाका जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीका मुख्य दावेदारका रूपमा अघि बढिरहेका छन्। दुवै नेताका पक्षमा आ–आफ्ना दल सक्रिय छन् भने अन्तिम सहमति भने अझै टुंगिन बाँकी छ।

एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि प्रदेशसभामा सभामुख पद समेत रिक्त भएको छ। सो पदमा जसपा नेपाल दाबी गर्न सक्रिय रहेको स्रोत बताउँछ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार बनाउने न्यूनतम बहुमत ५४ चाहिन्छ। सात दलीय गठबन्धनसँग हाल ७३ मत रहेकोले स्थिर सरकार बनाउन सहज देखिन्छ।

आजभित्र मुख्यमन्त्रीको दाबी पेश हुने सम्भावना ठूलो बनेको छ र मधेश प्रदेशको नयाँ राजनीतिक समीकरण केही घण्टामै स्पष्ट हुने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्