प्रधानमन्त्रीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ ।

वर्तमान सरकार जेनजीको भावनाबिपरित अघि बढ्न खोजेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ सो समूहले बुधबार प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री राजीनामा देउ, जेनजीका माग पुरा गर, दोषिलाई कारवाही गर लगाएतका प्लेकार्डसहित नारावाजी गरेका थिए । प्रधानमन्त्री निवासको गेटबाहिर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरि उनीहरुलाई त्यहाबाट हटाएको थियो ।

सो क्रममा जेनजी अगुवा मिराज ढुंगानाले जनेजी आन्दोलनको मर्म बिपरित सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएकाले आफुहरु विरोधमा उत्रिएको बताए। उनले आफुहरुले अघि सारेको ९ बुँदे मागमा सम्बोधन नभएसम्म विरोध जारी रहने भन्दै अहिलेको अवस्थामा हुने निर्वाचनले देशलाई निकास नदिने उल्लेख गरे । उनले जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर्नुपर्ने, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने बताए।

त्यस्तै जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनीमा संलग्नमाथि कारावही हुनुपर्ने उनीहरुले जनाएका छन् । यसअघि मंगलबारपनि सो समूहले सिंहदरबार आसपास प्रदर्शन गरेका थिए । आफुहरुको जायज माग प्रधानमन्त्रीलाई बुझाउन खोज्दा प्रधानमन्त्रीले समय नदिएको उनीहरुको आरोप छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्