काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र बिभिन्न शक्तिले नक्कली जेनजी परिचालन गरेर राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाउनुभएको छ ।
शुक्रबार काठमाडौंमा एमालेको एमालेको स्वयंसेवी दस्ता, नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा गर्दै ओलीले बिभिन्न शक्ति र सरकार पृष्ठभागमा बसेर नक्कली जेनजी परिचालन गरि राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाउनुभएको हो । अरुको निर्देशन मानेर जनेजीका नाममा उपद्रो मच्चाउन नपाइने उहाले बताउनुभयो । अध्यक्ष ओलीले सरकारले निर्वाचनको रटान लगाएपनि शान्तिपूर्ण भेला सभा आयोजना गर्ने वातावरणसम्म बनाउन नसकेको जिकिर गर्नुभयो ।
सरकार असफल भए देशमा झन् ठुलो बिपति हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आएको भन्दै ओलीले आपत्ति जनाउनुभयो । उहाले देशमा थप विध्वसं मच्चाउने योजना भए सपना नदेख्न सुझाव दिनुभयो । उहाले संविधानबाट नभइ असंवैधानिक बाटोबाट वर्तमान सरकार गठन भएको भन्दै लोकतन्त्रलाई सहि बाटोमा फर्काउने उद्घोष गर्नुभयो ।
ओलीले १२५ दललाई वार्तामा बोलाएर प्रधानमन्त्रीले एमाले र कांग्रेसको अपमान गरेको जिकिर गर्नुभयो । त्यस्तै उहाले एमालेको महाधिवेशन भाड्नका लागि बिभिन्न प्रयास भइरहेको भन्दै भव्य रुपमा महाविधेशन गरेर देखाउने बताउनुभयो ।
उहाले नक्कली बामपन्थीलाई एमालेमा कुनै स्थान नभएको समेत स्पष्ट पार्नुभयो । ओलीले कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध भोलेन्टियर फोर्स गठन गरिएको बताउनुभयो । फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उहाँले बताउनुभयो ।











