काठमाडौं, कार्तिक ८ । आगामी छठ पर्व नजिकिँदै जाँदा विराटनगरमा पूजामा प्रयोग हुने सामग्रीको मूल्य अत्याधिक बढेको छ ।
केरा र नरिवलजस्ता केही वस्तु स्थिर रहे पनि माटो, बाँस र अन्य आवश्यक सामग्रीको मूल्य चुलिँदा उपभोक्ता मारमा परेका छन् । छठ पूजाका लागि अनिवार्य रुपमा प्रयोग हुने माटोका ढाकी, दीया, बाँसका कुनिया र टोकरी लगायतका सामग्रीको मूल्य गत वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ ।
उपभोक्ताहरुले आवश्यक सामग्री महँगो भएकाले यस वर्ष केवल अनिवार्य वस्तुहरु मात्रै किन्ने गरेको बताएका छन् । व्यवसायीहरुले भने मूल्यवृद्धिको मुख्य कारण आपूर्तिमा कमी र खरिद लागतको वृद्धि भएको जनाएका छन् । आफैंले सामग्री महँगोमा किनेका कारण बिक्री मूल्य पनि बढाउनुपरेको उनीहरुले जनाएका छन् ।
यस्तै, सिमावर्र्ती भारतीय बजार जोगबनीमा समान सामग्री सस्तो पाइने भएकाले विराटनगरका उपभोक्ताहरु त्यतै किनमेलका लागि जाने क्रम बढेको छ । यसले स्थानीय बजार केही सुस्त बनेको व्यापारीहरुको भनाइ छ ।
छठ पर्वका बेला विराटनगर क्षेत्रमा हरेक वर्ष करिब १ करोड रुपैयाँ बराबरका सामग्रीहरु बिक्री हुने गरेको अनुमान छ । यस वर्ष शनिबारदेखि छठ पर्वको विधि आरम्भ भइसकेको छ ।











