काठमाडौं, २८ असोज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने सभापति शेरबहादुर देउवा पनि सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् ।
आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।











