कोशीले बाढी पहिरोका कारण क्षति भएका सबै घरको पुनर्निर्माण गरिदिने

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोका कारण क्षति भएका सबै घरको पुनर्निर्माण गरिदिने भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बिराटनगरमा बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले प्रदेश सरकारले सबै घर बनाइदिने निर्णय गरेको हो । विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने परिषद बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि बैठकले निर्देशन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्